कावासोतीमा ट्रक र कार एकापसमा ठोक्किँए, पाँच जनाको मृत्यु 

कावासोती, असोज ७ : नवलपुरको कावासोती नगरपालिका–८ खरकट्टामा ट्रक र कार एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा २१ च ६४०९ नम्बरको कार एकापसमा ठोक्किँएका हुन्। दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका नवलपरासीको देवचुली नगरपालिका–१, केउरानीका ३५ वर्षीय पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेंगा मगर र कैलालीका सुरज राना मगरमात्रै सनाखत भएको छ। अन्य २ जनाको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो। तर, अस्पताल पुर्‍याइए लगत्तै पाँचै जनालाई चिकित्सकले मृत घोषणा गरेको थिए।  दुर्घटना राति करिब सवा १० बजेतिर भएको प्रहरीले जनाएको छ। 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
 

 Published Date: Tuesday, 24th September 2019 8:33:09 am