मोबाइलमा घण्टी जाँदाजाँदै ओछ्यानमै भेटियो शव

पर्वत, भदौ ५ : पहिरोले घर बगाउदा वेपत्ता भएका पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँराका ७० वर्षीय रेमबहादुर चालिसे ओछ्यानमै मृत अवस्थामा भेटिएका छन्।

गए रातिदेखिको वर्षाले आज बिहान पहिरो जादा उनको घर बगेको थियो। करिब २५ मिटरबाट आएको पहिराले घरको केही भाग पुरिएको थियो।
उनका छोराछोरी गाउँबाहिर थिए। उनकी पत्नी पनि हिजै छोरीको घर गएकी थिइन्।

घरमा एक्लै सुतिरहेका रेमबहादुरले पहिरो गएको पनि  थाहै पाएनन्। बिहान छिमेकीले ब्युझेपछि पहिरो गएको देखेका थिए।

त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे। आज बिहानैदेखि प्रहरी र स्थानीय वासिन्दा उनको खोजीमा जुटेका थिए।

उनले बोक्ने मोबाइलमा घण्टी गइरहेको थियो। धेरैको आंकलन थियो, उनी मोबाइल बोकेर यताउता पो गए कि!

स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको पुरिएको घर खोतल्दै गएका थिए। उनको मोबाइलमा घण्टी जान रोकिएको थिएन्।

उनी ओछ्यानमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। उनका अनुसार, रेमबहादुरलाई सुतिरहेकै अवस्थामा पहिरोले पुरिएको पाइएको हो।

घरभन्दा माथि रहेको सिंचाइँ कुलो भत्किएर पहिरो गएको प्रहरीले जनाएको छ।

 Published Date: Thursday, 22nd August 2019 12:35:18 pm