यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

पोखरा, भदाै १९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन्। 

गण्डकी ट्रक व्यवसायी संघको २० औँ अधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशको यातायात क्षेत्र व्यवस्थित हुने बताएका हुन्। संघीय सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण गर्न बाँकी नै रहेकाले प्रदेशले सङ्घको ऐन पर्खिरहेको उनको भनाइ थियो।

उनले भने,“सङ्घले ड्राफ्ट गरिरहेको छ, सङ्घको ऐनअनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकाले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ, अब चाँडै व्यवस्थित हुन्छ।” प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले बताए।

यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न नीति प्रदेश सरकारले ल्याइरहेको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारीसाधन प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको बताए। रासस

 Published Date: Thursday, 5th September 2019 7:05:28 pm