आईतबार, माघ ४, २०७७

टोपबहादुर रायमाझी भन्छन्- अहिलेको अन्तरविरोधकै कारण नेकपा फुट्दैन 

काठमाडौं, मंसिर ९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र अहिले देखिएको अन्तरविरोधकै कारण पार्टी नफुट्ने दाबी गरेका छन्। 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रायमाझीले भने,‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस् या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन्। यसलाई स्वभाविक ठान्नुपर्छ। मलाई विश्वास छ–पार्टी कुनै हालतमा फुट्दैन्।’

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भइसकेकाले त्यसमा छलफल हुने बताए। 

‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्ने गरी प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ। सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सक्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ। म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन,’ उनले भने,‘यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन। अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ। यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ।’

उनले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने बताए। 

रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा  समझदारीका साथ हल गर्ने विश्वास दिलाए। ‘हामी एकै ठाउँमा उभिएर निष्कर्ष निकाल्छौँ। पार्टीभित्रको शक्ति सन्तुलन, सबै विषयलाई केलाएर एकीकृत रुपमा छलफल गर्छौं। हामी निष्कर्षमा पुर्याउँछौँ। यो पार्टी फुट्छ भन्ने हल्ला छ, तर मलाई फुट्छ भन्नेमा विश्वास छैन्। यो वा त्यो रुपमा फुटको पक्षमा उभिने, अस्वस्थ प्रतिष्पर्धा गर्ने, दुश्मनीपूर्ण संघर्षमा लैजाने काम कसैबाट पनि हुनुहुन्न,’ रायमाझीले भने। 

उनले पार्टीभित्र हुने छलफल तथा बहसलाई स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिए। ‘नेताहरुले पनि पार्टीभित्र देखिएका असहमति, समस्या, सम्भावना र चुनौतिलाई समाधान गर्ने हैसियत राख्नुपर्छ,’उनले भने,‘ नेताहरुले पार्टीभित्र उत्पन्न समस्याको समाधान गर्न नसके उहाँहरुको हैसियतमाथि नै प्रश्न उठ्छ। पार्टीलाई धराशयी पारेर नेता हुने हैसियत हुँदैन। नेताहरुले जनआन्दोलन, जनयुद्ध, संविधान निर्माण, चुनाव, पार्टी एकता र सरकार निर्माणको लागि विशिष्ट योगदान गर्नुभएको छ, अब पनि त्यो हैसियत राख्नुपर्छ।’

उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गइसकेकाले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने बताए।  उनले भने,‘आरोप कति सत्य छन्? कति छैनन्? भनेर त्यो छलफलमा केलाउनुपर्छ। ओलीजीले पनि प्रतिवेदन ल्याउनुहुन्छ। के हुन्छ ? भन्नेबारे अहिले नै भविष्यवाणी नगरौँ। प्रतिवेदनलाई सकारात्मक रुपमा अध्ययन गर्छौं। र, निकास निकाल्छौँ।’ 
 

 Published Date: Tuesday, 24th November 2020 9:18:00 pm