माघे संक्रान्तिको महिमा र कथा

काठमाडाै‌, माघ १ : बुधबार चावहिल गणेशस्थानस्थित सडकछेउ राखिएको पसलमा १९ वर्षीय अयान जेसवाललाई व्यापार गर्न भ्याइनभ्याई थियो । उनले चाकु, तिलको लड्डु, सख्खर बेचिरहेका थिए । उनी काकाको किराना पसलमा सहयोगीका रूपमा काम गर्छन् । माघे संक्रान्ति चाडको मौका छोपी सडकको पेटीमा उक्त पसल राखेका हुन् । व्यापार कस्तो चलिरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘भोलि माघे संक्रान्ति भएकाले राम्रै चलिरहेको छ ।’ 

यसै स्थानमा माघेसंक्रान्तिलाई भनेर सख्खर किन्न आएकी रिता श्रेष्ठ भने घरमै बनाएको चाकु  खाँदा सफा स्वादिष्ट हुने बताउँछिन् । नेवारहरूले माघे संक्रान्तिलाई घ्यो चाकु सँल्हू भन्छन् । 

सत्यमोहन जोशीको पुस्तक ‘नेपाली चाड पर्व’ अनुसार, यस दिनलाई नेवारहरूले घ्यो–चाकु सँल्हू (घिउ चाकु खाने संक्रान्ति)सँगै हामो सँल्हू (तिलको प्रधानता भएको संक्रान्ति) पनि भन्छन् । नेवारीमा महिनाको पहिलो दिनलाई सँल्हू भनिन्छ ।

अधिकांश नेपालीले ‘माघे संक्रान्ति’को नाममा मनाउने यस पर्वलाई विभिन्न जातिले आ–आफ्नै मौलिक संस्कृतिअनुसार मनाउँछन् । यसलाई थारु लगायत जातिले ‘माघी’, मगर जातिले ‘माघे सकराती’का मनाउँछन् । 

धार्मिक महत्त्व

पूर्वीय ज्योतिषशास्त्र अनुसार, सूर्य एउटा राशिबाट अर्को राशिमा सरेर जाने दिनलाई संक्रान्ति भनिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा सर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति भनिएको हो । यस दिनदेखि सूर्य उत्तरायण हुने गर्दछ । माघ महिनाबारे पुराणहरूमा पनि चर्चा पाइन्छ ।

यस दिन कतिपयले नदी वा पवित्र स्थलमा स्नान गर्दछन् । विशेषतः यस दिन मेची, महाकाली, सप्तकोशी, सप्तगण्डकी किनारका देवस्थलहरू, घाटहरू, दोभानहरू र त्रिवेणीहरूमा साना–ठूला मेला लाग्दछन् । 

सत्यमोहन जोशीका अनुसार यसबारे एउटा कथा छ । कथा भन्छ–


एकचोटि एकजना व्यापारीले माघे संक्रान्तिका दिन तिल बेचिरहेको थियो । जति बेचे पनि उसले उसले ल्याएको तिल घटेनछ, जतिको त्यति नै रहिरहेछ । यो त गजब भयो, यस्तो कसरी भयो भनी उसले यताउता हेर्दा आफ्नो तिलको राशिमुनि नारायणको मूर्ति देखेछ । त्यसपछि तिलको महिमा सबैले थाहा पाए । भक्तपुरको टौमढीटोलमा तिलमाधव नारायणको एउटा सुन्दर मन्दिर नै बन्यो । अद्यापि त्यहाँ माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ । श्रद्धालु भक्तजनहरू धूमधामसँग हरिकीर्तन गर्दछन् । मेला भर्न आउनेहरूले तिलमाधव नारायणलाई पञ्चामृत, घिउचाकु र विशेष  गरी तिलका लड्डुहरू चढाउँछन् ।

संस्कृतविद् ओम धौभडेलका अनुसार भक्तपुरमा माघेसंक्रान्तिदेखि नौदुर्गाको नाच पनि सुरु चलन छ ।

‘महामारीले गुणकारी तरुल बिकेन’ 

जोरपाटीस्थित तरकारी बजारमा सोलखुम्बुकी कमला लामाले तरकारी पसल राख्न थालेको २० वर्ष भयो । सिजन अनुसारको तरकारी व्यापार गर्दै आएकी उनले माघेसंक्रान्तिका लागि भनेर विभिन्न प्रकारका तरुल मात्र बेचिरहेकी छिन् । उनका अनुसार यस वर्ष अघिल्ला वर्षजस्तो तरुल बिक्री भएको छैन । महँगोमा किनेर सस्तोमा बेच्नुपरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘आफूले एक सय ४० रुपैयाँँ तिरेर ल्याएको तरुल ६०–७० रुपैयाँ बेच्नुपरेको छ । ल्याएको भाउमा अलिकति नाफा राखेर भन्दा पनि नबिकेपछि घटाउनुपरेको हो ।’

उनले ‘पाताले’ नामक तरुल देखाउँदै भनिन्, ‘कालिमाटीबाट यसलाई दुई सय रुपैयाँ तिरेर ल्याएको, यहाँ १३० मा बेच्नुपरेको छ । यसपालि पोहोरजस्तो बिकेन । महामारीले हो कि !’

विभिन्न प्रजातिको तरुल बजारमा सजिलैसँग किन्न पाइन्छ । रातोतरुल, हात्तीपाइले तरुल, सिमलतरुल, चिप्लेतरुल, वनतरुल, लाम्चेतरुल, पातलेतरुल बजारमा पाइन्छ । 

तरुलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, बिटा क्यारोटिन लगायत पाइन्छ । यी तत्व मानव स्वास्थ्यका लागि फाइदाजनक छन् । पुर्खाले तरुलको महत्त्व बुझेरै तरुल खाने पर्व मनाएको अनुमान गरिन्छ । त्यस्तै, तिलमा पनि क्याल्सियम, आइरन, माग्नेसियम लगायत स्वास्थ्यका लागि लाभदायक तत्व पाइन्छन् । 
 

 Published Date: Thursday, 14th January 2021 10:21:00 am