कोरोना परीक्षणमा पीसीआर जस्तै विश्वसनीय क्रिस्पर : अमेरिकापछि नेपालमा प्रयोगमा ल्याउने तयारी

काठमाडौं, माघ २ : क्रिस्पर (CRISPR) प्रविधि कोरोना परीक्षणका लागि अहिले प्रयोग भइरहेको आरटी/पीसीआरजस्तै हो । यो एन्टिजेन, एन्टिबडी, र्‍यापिड टेस्टमध्ये कुनै पनि प्रविधि होइन ।  तथापि, क्रिस्परले पनि भाइरसको आरएनएलाइ ‘डिटेक्ट’ गर्छ ।

यसको सेन्सिटिभिटी पनि आरटी/पीसीआरसरह नै छ । कोरोना परीक्षणका लागि यो सस्तो, छरितो र भरपर्दो प्रविधि हो । दुई सातायता अमेरिकाको बोस्टनस्थित एमआईटी विश्वविद्यालयमा कार्यरत हाम्रो सानो टिम नेपाल आएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरी त्यसलाई मान्यता दिलाउने प्रयासमा छौँ ।

आरटी/पीसीआरको तुलनामा प्रयोग गर्न सहज हुने भएकाले पनि यो प्रविधिलाई उपयोगी मानिएको छ । यसअन्तर्गत नाकको अघिल्लो भागबाट स्वाब निकालेर कोरोना परीक्षण गरिन्छ । 

पीसीआर विधिमा नाकको पछिल्लो भागबाट स्वाब निकालिँदा कतिपय मानिसलाई दुख्ने, स्वाब निकाल्न डराउने जस्ता समस्या पनि देखिएका छन् । क्रिस्परका लागि भने नाकको अघिल्लो भागबाट स्वाब निकालिने भएकाले दुख्ने समस्या कम हुन्छ । नाकको अघिल्लो भागमा तीन पटक घुमाई निकालिएको स्वाबलाई पानी वा स्लाइनमा राखिन्छ । त्यसपछि १० देखि १५ मिनेटसम्म ६० डिग्री सेल्सियसमा तताइन्छ । परीक्षण गरेको ७० मिनेटभित्र यसको परिणाम प्राप्त हुन्छ । यसको परीक्षणमा भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) आवश्यक हुँदैन र खर्च पनि कम हुन्छ ।

यसको प्रविधि एकै भए पनि प्रयोग गर्ने दुई तरिका छन् । पहिलो– धेरै मानिसको एकैपटक परीक्षण गर्नुपर्दा ठूलो प्लेटमा राखेर प्रयोग गर्न सकिन्छ । जस्तो– विमानस्थल, प्रयोगशाला र मानिसको बाक्लो आवतजावत हुने ठाउँमा यसलाई ठूलो प्लेटमा राखेर प्रयोग गर्न सकिन्छ । पहिलो तरिकाबाटएकपटकमा एक सय ९० जना सम्मको परीक्षण गर्न सकिन्छ । 

दोस्रो– प्रविधिको पहुँच नभएका दुर्गम ठाउँमा सानो झोलामा बोकेर पानीलाई ६० डिग्री सेल्सियसको तापक्रममा तताइन्छ । त्यसमा एक प्रकारको विशेष कागज डुबाइन्छ । त्यस कागजमा एउटा धर्का देखियो भने नेगेटिभ र दुईवटा धर्का आए भने पजिटिभ भन्ने बुझिन्छ । दोस्रो विधि अन्तर्गत घर–घरमा पुगेर कोरोना परीक्षण गर्न सकिन्छ ।

यो नयाँ प्रविधि अमेरिकाको एमआईटी विश्वविद्यालय स्थित प्रयोगशालामा आविष्कार भएको हो । अमेरिकामै पनि यो प्रविधि भर्खरै प्रयोगमा आएको छ । एमआईटीका वैज्ञानिकहरूले बनाएको यो प्रविधि नेपालका लागि निकै उपयोगी देखिएको छ । त्यसैले अमेरिकासँगै नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन हामी लागिपरेका छौँ । अमेरिका र नेपाल बाहेकका मुलुकमा यो प्रयोगमा छैन ।

हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएकामध्ये नमूनाका रूपमा तीन सय ४० वटा स्वाब लिएर क्रिस्पर र पीसीआर दुवै प्रविधिबाट परीक्षण गरेका थियौँ । दुवैको परिणाम लगभग एउटै आएको छ । त्यसैले यसलाई पीसीआरजत्तिकै भरपर्दो मान्न सकिन्छ ।

नेपालको सन्दर्भमा आफैँले यसका लागि आवश्यक कच्चा पदार्थ संकलन गर्ने हो भने चार सय रुपैयाँभन्दा कममा परीक्षण हुन सक्छ । अन्य संस्थामार्फत प्रविधि प्रयोग गर्दा चार सय रुपैयाँ पर्न आउँछ । यो प्रविधिलाई स्टोर गर्न पनि पीसीआर जत्तिकै तापक्रम अर्थात माइनस २० डिग्री सेल्सियसमा राख्न सकिन्छ ।

तत्कालका लागि यो प्रविधि कोरोना परीक्षणमा प्रयोग गरिए पनि भविष्यमा यसलाई आधार बनाएर विभिन्न प्रकारका डायग्नोसिस गर्न सकिने सम्भावना पनि देखिएको छ । क्षयरोग, एचआईभी/एड्स, मलेरिया लगायत रोग परीक्षणमा पनि उपयोगी हुनसक्ने अनुमान छ । यो पीसीआर जत्तिकै भरपर्दो, खर्चका हिसाबबाट पीसीआरभन्दा सस्तो र समयको दृष्टिबाट पनि पीसीआरभन्दा चाँडो परीक्षण गर्न सकिने प्रविधि हो यो । नेपालका लागि यो प्रविधि सुहाउँदो र उपयोगी मानिएको छ ।

त्यसैले नेपालमा प्रयोगमा ल्याउन हामीले जोड दिइरहेका छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ । मन्त्रालयले विभिन्नसीमा नाका र विमानस्थलमा यो प्रविधि प्रयोग गर्ने चाहना देखाएको छ । तर, कहिले, कति र कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ । ( - महत अमेरिकाको बोस्टनस्थित एमआईटी विश्वविद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिक हुन्)

 Published Date: Friday, 15th January 2021 7:00:00 am