हिउँको प्रतीक्षा: नांगै छन् हिमाली डाँडा

हिउँ नपरेर नांगै रहेका रसुवागढी आसपासका डाँडा।

काठमाडौं, माघ २ : वाइल्ड लाइफ फोटोग्राफीका सौखिन विकास बस्नेतले गत बुधबार आफ्नो फेसबुक वालमा रसुवागढीनजिक हिमाली भेगका गत वर्षका तस्बिर पोस्ट गर्दै लेखे– ‘यसपाला यो ठाउँमा हिउँ छैन।’ उनको पोस्टमा कमेन्ट लेख्दै दिनेश बस्येलले दुई वर्षअघिको त्यही क्षेत्रको तस्बिर पोस्ट गरे, जसमा हिउँबाट ढकमक्क ढाकिएको हिमाली भेग देखिन्छ।

हुन पनि, यस वर्ष चीन सीमाको रसुवागढी आसपासका डाँडाकाँडा नांगा छन्। चिसो सिरेटो चल्नु त हिमाली भेगका लागि सामान्य हो, तर यस वर्ष हिउँ देख्न पाएका छैनन् ती नांगा डाँडाले।

हिउँ नपर्दा हिमाली भेगका बासिन्दा चिन्तित छन्। समयमा हिउँ नपरे बालीनालीले पर्याप्त चिस्यान नपाउने चिन्तामा छन्, उनीहरू। र, यस वर्ष अनिकाल लाग्ने त्रासमा छन्।

पश्चिमी वायु नेपाली आकाशमा सक्रिय भएपछि लेकाली भेगमा हिउँ बर्सिन्छ, पहाड र तराईमा हिउँदे वर्षात् हुन्छ। केही दिनअघि नेपाल प्रवेश गरेको पश्चिमी वायु प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगमा हिमपात गराइरहेको छ। तर, त्यो देशभर फैलिन नपाई निश्क्रिय बन्दैछ। ‘त्यो त्यति शक्तिशाली वायु प्रणाली थिएन, त्यसैले त्यो प्रदेश १ सम्म पुग्न सकेन,’ पूर्वसचिव तथा वरिष्ठ मौसमविद् ऋषिराम शर्मा भन्छन्, ‘अलि बलियो पश्चिमी वायु प्रणाली प्रवेश नगरुन्जेल तत्काल हिमपातको सम्भावना देखिँदैन।’

नेपालमा मौसमका दुईवटा चक्र छन्। अफ्रिका र युरोपबीचको भूमध्यसागरबाट उत्पन्न भएर इरान, अफगानिस्तान हुँदै नेपाल प्रवेश गर्ने पश्चिमी वायुले हिमाली भेगमा हिमपात गराउँछ। यही जलवाष्पमा कहिलेकाहीं अरब सागरको वायु पनि थपिन्छ।

वर्षायाममा भने बंगालको खाडीबाट उत्पन्न हुने वायु नेपालको न्यूनचापीय रेखासँग ठक्कर खाँदै मनसुनी वर्षामा परिणत हुन्छ। पश्चिमी वायु निश्क्रिय भएपछि वर्षायाम सुरु हुन्छ भने पूर्वीय वायु निश्क्रिय भएर हिउँद लाग्छ। यही चक्रमा जोडिन्छ, हिमालदेखि तराईसम्म पानीको उपलब्धता पनि।

हिमालमा जमेको हिउँ जमिनले थेग्न सक्ने मात्रामा मात्र जमिरहन्छ, थेग्न नसक्ने भएपछि विस्तारै खस्न थाल्छ। गर्मी सिजन सुरु भएपछि पनि पग्लेर झर्न थाल्छ। हिमनदी, नदी हुँदै तल्लो तटीय इलाकामा सुसाउँदै बग्छ। नदी किनारका फाँटहरूमा सिँचाइ सुविधा उपलब्ध गराउँदै हिमाल, पहाड र तराईसम्म त्यही पानीले जीवनचक्र चलाउने आधार दिन्छ। यो पानीलाई भावर क्षेत्रमा जम्मा गरेर राख्न सकिए तराईका खेतीयोग्य फाँटहरूका लागि सिँचाइको स्थायी भूमिगत स्रोत तयार हुन सक्ने प्रचुर सम्भावना छ। नेपालमा यस पाटोमा केही काम भएको छैन।

वरिष्ठ मौसमविद् शर्माका अनुसार पश्चिमी वायु सक्रिय या निश्क्रिय रहने दुवै पाटो विश्वव्यापी ‘फेनोमेना’सँग जोडिन्छ। ‘विश्वव्यापी मौसमी प्रणाली सधैँभरी नेपालमा प्रवेश गर्नुपर्छ भन्ने छैन,’ शर्मा भन्छन्, ‘मनसुनी वायुजस्तो पश्चिमी वायु यही दिन नेपाल प्रवेश गर्छ र यही मितिमा निश्क्रिय बन्छ भन्ने अग्रिम जानकारी हासिल गर्न सकिँदैन। कुनै वर्ष एकपटक पनि पश्चिमी वायु प्रणाली नेपाल प्रवेश नगरी हिउँद बितेका उदाहरण छन्।’

नेपालमा छिटोमा मंसिरमै पनि पश्चिमी वायु प्रणाली प्रवेश गर्ने गर्छ। यस वर्ष माघ लागिसक्दा पनि शक्तिशाली वायु प्रणाली झुल्किएको छैन। सामान्यतया प्रि–मनसुनसम्ममा पश्चिमी वायु प्रणाली नेपाली आकाशमा प्रवेश गर्ने आशा गर्छन्, मौसमविद्हरू। प्रि–मनसुन भनेको मार्च, अप्रिल र मे महिना हुन्। त्यसैले त हो, तराई र मध्य पहाडमा गर्मी चढिसक्दा पनि कुनै वर्ष हिमाली भेगमा भारी हिमपात हुने पनि।

प्रि–मनसुनमा प्रवेश गर्ने पश्चिमी वायुले चट्याङ, आँधीहुरी र असिना पनि सँगसँगै लिएर आउँछ। ‘अहिले प्रवेश गर्ने वायुबाट भने चिसो मात्र बढ्ने हो, अन्य प्रकारका मौसमी प्रकोप साथमा लिएर आउँदैन,’ वरिष्ठ मौसमविद् शर्मा भन्छन्।

हिउँ भनेको पानीको एउटा रूप हो, जुन अत्यधिक चिसो क्षेत्रमा बर्सिने भएकाले ठोस आकारमा रहन्छ। तर, त्यो ठोस आकारमै रहिरहँदैन, गर्मी बढेसँगै पग्लिन्छ। अनि, हिमनदीसँगै तल्लो तटीय क्षेत्रमा बग्न थाल्छ। जमिनमा जमेर रहेको हिउँ ‘ग्राउन्ड वाटर रिचार्ज’को एक मुख्य माध्यम पनि हो। ‘किसानका लागि हिउँ अत्यन्तै फाइदाजनक हुन्छ। किनकि, वर्षाको पानी जमिनले पर्याप्त मात्रामा सोस्न पाएको हुँदैन, बगेर जान्छ। वर्षाको पानीले बाढी पहिरोको जोखिम पनि अत्यधिक बढाउँछ,’ शर्मा भन्छन्, ‘हिउँदमा हुने भारी हिमपातले हिम पहिरोको जोखिम ननिम्त्याउने होइन। हिउँ भने वर्षायामको जस्तो जमिनले सोस्न सक्ने सोस्यो, नसकेको बगिजाने होइन। जमिनमै लामो समय जमेर बस्छ। र, लामो समयसम्म बोट बिरुवा र अन्नबालीलाई चिस्यान दिइरहन्छ।’

विज्ञहरूका अनुसार हिउँसँग हिमाली भेगका दुईवटा पाटो गाँसिएका छन्। ती हुन्, कृषि क्यालेन्डर तथा सांस्कृतिक पर्वहरू ल्होसार, रुम र होल्ताङ्बे। हिउँ परेपछि माटो खुकुलो हुन्छ। र, खेतीपातीका लागि उर्बर बन्छ। त्यसैले, हिउँसँगै हिमाली भेगमा सहकाल आएको मानिन्छ। आलु, जौ, गेडागुडी, फापर, चिनो, करु खेतीका लागि यस मौसममा हिउँ पर्नु उपयुक्त मानिन्छ। यस सिजनमा हिउँ पर्दा हिमाली भेगका जडिबुटी पनि फस्टाउँछन्। तामाङ, ह्योल्मो, मुगाम्बा र डोल्पालीले हिउँदमा मनाउने पर्वहरू पनि हिउँसँगै जोडिन्छन्।

हिउँ पर्ने सिजनसँगै हिमाली भेगका चौंरी र घोडाका क्याराभान लेक–बेंसी गर्छन्। हिउँ झर्न थालेपछि बेंसीतिर ओर्लिन्छन्, पग्लिने मौसममा उकालो लाग्छन्। हिमालबाट निस्रित पानीको स्रोतमा निर्भर छ, हिमाली भेगको जनजीवन। हिमालमा जम्मा भइसकेको हिउँ स्थिर भएर बसोस् र यस वर्ष प्रशस्त हिउँ परोस् भन्ने कामनाका साथ हिमाली भेगमा चैत-वैशाखतिर उँभौली र कात्तिक-मंसिरतिर उँधौली पूजा गर्ने चलन छ। यी पूजामा सहकालको कामना हुन्छ। पूजाका क्रममा आ–आफ्ना क्षेत्रका हिमाललाई प्रतिक बनाइएको हुन्छ।

‘इटालियन नेसनल रिसर्च काउन्सिल–वाटर रिसर्च इन्स्टिच्युट’को एक अध्ययनअनुसार नेपालमा हिमनदीको संख्या तीन हजार आठ सय आठ छ। नेपालको हिमालय क्षेत्रमा हजारौं वर्षदेखि थुप्रिएको हिउँ छ। लामो अवधी गुजारेको हिउँले अझ कडा रूप पाएर बरफ बन्छ। हिम नदी बन्न १० देखि २० वर्ष लाग्ने विज्ञहरू बताउँछन्। बरफको बाक्लो तह गुरुत्वाकर्षण र आफ्नै वजनका कारण विस्तारै बग्न थाल्छ। आकाशबाट झरेको हिउँ जम्ने र हिमनदीका रूपमा बग्ने प्रक्रिया बराबर हुनुपर्ने सिद्धान्त पनि छ।

नेपालका हिमाल आरोहण गर्न बर्सेनि विश्वभरका करिब पाँच हजार आरोहीले आवेदन दिन्छन्। हिउँ नेपाली पर्यटनको मेरुदण्ड नै मानिन्छ। पर्वतारोहणबाटै नेपालमा पर्यटन उद्योगको सुरुआत भएको मानिन्छ। नेपालमा आरोहणयोग्य एक हजार सात सय ९२ वटा हिमाल छन्।

नेपालमा सामान्यतया समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको उचाइमा जाडोयाममा हिउँ पर्ने गर्छ। यस्तै, पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा हिउँ स्थिर भएर बस्ने अनुमान छ, जसलाई हिमाल भनिन्छ।

 

 Published Date: Friday, 15th January 2021 12:29:00 pm