कोभिडका कारण पर्यटनमा घाटा बेहोर्ने १० मुख्य मुुलुक

कोरोना महामारीले १० महिनादेखि अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा ठूलै संकट सिर्जना भएको छ। अन्तर्राष्ट्रिय भ्रमणमा बाधा पुगेपछि विश्वमै आर्थिक र व्यावसायिक क्षेत्र प्रभावित छन्। महामारीले अकल्पनीय अवस्था सिर्जना गर्दा हरेक देशले सीमा नाकामा आवतजावत निषेध गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान पनि सहज बनिसकेका छैनन्। ट्राभल अपरेटर र होटेलहरू ठप्प छन् । पर्यटन उद्योगमा मन्दी कायम छ ।

विश्वले महामारीको नयाँ चरणमा कदम राखेको र पर्यटन उद्योगले फेरि लामो सास फेर्ने विश्वास ‘इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेसन’ (ईएसटीए) का अन्तर्राष्ट्रिय विकास निर्देशक जेने फरेस्टरको छ । उनी भन्छन्, ‘महामारी चाँडै नियन्त्रित हुनेछ र हामी फेरि सुरक्षित यात्राका लागि सक्षम हुनेछौँ। विश्वको सबैभन्दा ठूलोमध्येको पर्यटन उद्योगको थप नोक्सानी रोकिने आशा छ।’

वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लूटीटीसी), विश्व बैंक र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेसन (ईएसटीए) ले भर्खरै पर्यटनमा राजस्व घाटा भएका देशहरूको विवरण प्रकाशित गरेका छन् । कोभिडका कारण पर्यटन क्षेत्रमा सबैभन्दा ज्यादा राजस्व गुमाएका संसारका शीर्ष १० देश यी हुन् :

अमेरिका

कोभिड महामारीका कारण पर्यटन क्षेत्रमा भएको घाटा अमेरिकामा सबैभन्दा बढी छ। अमेरिकाले सन् २०२० को पहिलो १० महिनामा १४७ अर्ब २४ करोड ५० लाख अमेरिकी डलर घाटा बेहोरेको छ। अमेरिकाका विभिन्न राज्यले कोभिड–१९ फैलन नदिन यात्रामा कडाइ गर्दै युरोपसहितका अन्य महत्वपूर्ण देशमा यात्रा गर्न पूर्ण प्रतिबन्ध लगाएको थियो।

स्पेन

सन् २०२० मा स्पेनले अन्य युरोपेली मुलुकको तुलनामा सबैभन्दा बढी घाटा बेहो¥यो । कोभिड–१९ बाट अत्यधिक प्रभावितमध्येको एक मुलुक स्पेनले पर्यटनबाट प्राप्त हुने ४६ अर्ब ७० करोड ७० लाख डलर गुमायो। गर्मी मौसममा अन्य युरोपेली मुलुक र सेन्जेन क्षेत्रका २५ देशबाट यात्रु आगमन खुलाए पनि अमेरिकाबाट पर्यटक भित्र्याउन सकेन ।

फ्रान्स

विश्वमै सबैभन्दा ज्यादा भ्रमण हुने देश फ्रान्सले सामान्यतया बर्सेनि आठ करोड ९० लाख हाराहारीमा पर्यटक भित्र्याउँछ । सन् २०२० मा कोभिडका कारण यो अंक नाटकीय रूपमा खस्कियो। सन् २०२० को पहिलो १० महिनामा कुल पर्यटन राजस्वको ४२ अर्ब तीन करोड ६० लाख डलर घाटा खेप्नुप¥यो। स्पेन र फ्रान्ससहित युरोपका पाँच मुलुक पर्यटन उद्योगमा घाटा बेहोर्ने देशको शीर्ष १० मा पर्छन्।

थाइल्यान्ड

थाइल्यान्डले अन्तर्राष्ट्रिय यात्रुका लागि ढोका खोल्न थालेको छ। एसियाली मुलुक थाइल्यान्डले कोभिडका कारण पर्यटनमा ३७ अर्ब ५० करोड ४० लाख डलर घाटा बेहो¥यो । ईएसटीएको रिपोर्टअनुसार एसियाली मुलुकमध्ये थाइल्यान्डले सबैभन्दा बढी घाटा बेहोरेको छ ।

जर्मनी

सन् २०२० जनवरीदेखि अक्टोबरसम्म जर्मनीले पर्यटन क्षेत्रमा ३४ अर्ब ६४ करोड १० लाख डलर घाटा बेहोरेको छ । घाटाको यस प्रतिस्पर्धामा युरोपेली मुलुकमध्ये स्पेन र फ्रान्सपछि जर्मनी आउँछ। जर्मनीले गत जुनदेखि नजिकका मुलुकमा यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धकै कारण बेलायत र अमेरिकाका धेरै पर्यटक जर्मन पुग्न सकेनन्।

इटाली

युरोपमा कोभिड महामारीको केन्द्रविन्दु बनेको इटालीले पनि पर्यटनमा ठूलो घाटा बेहोरेको छ । सन् २०२० को पहिलो १० महिनामा करिब २९ अर्ब ६६ करोड ४० लाख डलर क्षति बेहो¥यो।

बेलायत

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (संस्करण) ले अहिले आतंक सिर्जना गरेको छ, जुन फैलिँदो क्रममा छ । ईएसटीएको तथ्यांकअनुसार बेलायतको पर्यटन राजस्वमा २७ अर्ब ८८ करोड ९० लाख डलर घाटा भएको छ ।

अस्ट्रेलिया

अस्ट्रेलियाले पर्यटन उद्योगमा बेहोरेको घाटा पनि लगभग बेलायतकै जस्तो छ। सन् २०२० को पहिलो १० महिनामा २७ अर्ब २० करोड ६० लाख डलर अस्ट्रेलियाले पनि गुमाएको छ। 

जापान

जापानको पर्यटन उद्योगलाई पनि महामारीका कारण गम्भीर चोट लागेको छ । टोकियोमा हुने तय भएको ग्रिष्मकालीन ओलम्पिक सन् २०२१ मा आयोजना हुने गरी स्थगित भएको छ । सन् २०२१ मा पनि ग्रिष्मकालीन ओलम्पिक आयोजना हुनेमा सन्देह छ । सन् २०२० को पहिलो १० महिनामा जापानको कुल पर्यटन राजस्व घाटा २६ अर्ब दुई करोड ७० लाख डलर छ।

हङकङ

कोभिड महामारीका कारण अन्य एसियाली गन्तव्यजस्तै हङकङले २४ अर्ब ६ करोड ९० लाख डलरको राजस्व घाटा बेहोरेको छ। हङकङको पर्यटन बोर्डले भर्खरै आन्तरिक यात्रा पुनः सुरु गर्ने निर्णय लिएको छ । र, त्यसका लागि स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ ।

ट्राभलपल्स डटकमबाट
 

 Published Date: Saturday, 16th January 2021 7:40:00 am