नर्स अनुभव : कोही आफैँ संक्रमित, कोही अनुभवबाट आत्मबल बढाउँदै

काठमाडाैं, जेठ ४ : नर्स रोजिना गिरी यतिखेर धुलिखेल अस्पतालको कोभिड वार्डमा खटिएकी छन्। वार्डमा छिर्नुअघि पर्सोनल प्रोटेक्टिभ इक्पिमेन्ट (पिपिई) लगाउँदै गर्दा उनको मनमा डरले घर गर्न थाल्छ, कतै आफैँ संक्रमित हुने हो कि ? यहीबीचमा उनले आफ्नो ड्युटी, देश र संसारको अवस्था सम्झन्छिन्। अनि, आफू संक्रमित हुने मनको डर हार्छ र उनी वार्डमा प्रवेश गर्छिन्। ‘सुरुसुरुका दिनमा ८ घन्टा पिपिई लगाएर काम गर्‍यौँ, लामो समयसम्म पिपिई लगाएर काम गर्न मुस्किल हुन्छ,’ उनी भन्छिन्, ‘ट्वाइलेट जान र पानी पिउन नपाउँदा निकै पीडा हुन्थ्यो।’

२३ वर्षीया गिरी नेपालमा कोरोना भित्रिएदेखि नै कोरोना संक्रमितको वार्डमा खटिएकी हुन्। पछिल्लो समय उनी दिनमा सात घन्टा खटिनुपर्थ्यो। पहिलेको अनुभव, सिकाइ, बुझाइले आत्मबल बढाए पनि उनलाई डर लाग्थ्यो नै।

आफूलाई सुरक्षित राख्न उनी कोभिड वार्डबाट निस्किएपछि सधैँ नुहाएर मात्र घर जान्थिन्। ‘दुई साताअगाडि रात्रिकालीन ड्युटी थियो। रातको १ बजे लगातार दुई दिन नुहाएँ,’ रोजिना भन्छिन्, ‘त्यसपछि रुखाखोकी अनि थकाइ लागेको जस्तो महसुस भयो।’ कोभिड वार्डमा काम गर्ने भएकाले शंका लागेर उनले कोभिड परीक्षण गराइन्। गत शुक्रबार उनको रिपोर्ट पजेटिभ आयो। त्यसैले एक सातादेखि उनी भक्तपुर खरिपाटीको आफ्नो घरमा आइसोलेसनमा बसिरहेकी छन्।

‘ज्वरो आएको थिएन,’ उनी भन्छिन्, ‘कोरोना संक्रमितको केयर गर्दागर्दै आफू कसरी संक्रमित भएँ भन्ने नै थाहा पाइनँ।’

कोरोना संक्रमित भए पनि उनलाई अक्सिजनको कमी महसुस भएको छैन। त्यसैले उनले घरमै पौष्टिक खानेकुरा खाएर कोरोनासँग लडिरहेकी छन्। ‘आइतबारदेखि स्वास्थ्यमा सुधार हुँदै आएको छ,’ उनले भनिन्, ‘नेपालमा सुरुसुरुमा कोरोना बिरामी आउँदा निकै डराइन्थ्यो। पहिला कोरोना पजेटिभलाई छुनासाथ सर्छ जस्तो लाग्थ्यो।’

त्यतिबेला स्वास्थ्यकर्मीलाई अहिलेजस्तो सुरक्षाका स्वास्थ्य सामग्री समेत पर्याप्त थिएनन्। अहिले पजेटिभ देखिए पनि पहिलो लकडाउन, दोस्रो लकडाउन र अहिलेको निषेधाज्ञाले आफूलाई बलियो र आत्मविश्वासी बनाउँदै लगेको उनी बताउँछिन्।

धुलिखेल अस्पतालमा कार्यरत नर्स राेजिना गिरी ।

‘अहिले बिस्तारै नर्सका लागि तालिम, सुरक्षा मापदण्ड, स्वास्थ्य सामग्री दिन थालिएको छ,’ उनले भनिन्, ‘तालिम दिएपछि बिस्तारै कोभिड वार्डमा काम गर्न सजिलो बन्दै गएको हो।’

पिपिई, मास्क, सेनिटाइजर अन्य स्वास्थ्य मापदण्ड पालना गरिरहँदा पनि आफू कसरी कहाँ गल्ती गरेर संक्रमित हुन पुगेँ भन्ने उनले मेसो पाएकी छैनन्।  

पहिले उनलाई छिमेकी तथा आफन्त सानो स्वास्थ्य समस्या हुँदा पनि घरमा बोलाउँथे। अहिले कोभिड वार्डमा काम गर्ने भएकाले उनलाई सम्झँदैनन्। मानिसहरूमा कोभिड वार्डमा काम गर्ने नर्सले कोभिड सार्न सक्छन् भन्ने त्रास देखिन्छ।

कान्ति बाल अस्पतालमा तीन वर्षदेखि काम गरिरहेकी छिन्, २३ वर्षीया रोजिना बुढाथोकी। नेपालमा कोरोना संक्रमित देखिएको सुरुवाती दिनदेखि नै उनी कोभिड वार्डमा खटिएकी छन्। सुरुमा कोरोनाका बारेमा धेरै ज्ञान नहुँदा, आवश्यक स्वास्थ्य सामग्री नहुँदा समस्या भोग्नुपरेको रोजिनाको अनुभव छ। कोभिड–१९ को दोस्रो लहर आउँदा भने आफूले धेरै नै अनुभव हासिल गरेको उनी बताउँछिन्।

अहिले कोरोना बिरामीका लागि तीनवटा तह छुट्ट्याइएको हुन्छ– रुघाखोकी लागेको कोभिड तह ए, पिपिआर परीक्षण गरेर पजेटिभ आएपछि कोभिड तह बी, संक्रमित जोखिम अवस्थामा हुनेलाई कोभिड तह सी। यही आधारमा आफूहरूले उपचार गरिरहेको उनी  बताउँछिन्।

कान्ति बाल अस्पतालमा कार्यरत नर्स राेजिना बुढाथाेकी ।

सुरुसुरुमा कोरोना संक्रमित वार्डमा काम गर्ने नर्सले धेरै समस्या भोग्नुपरेको उनी बताउँछिन्। कोठाभाडामा बस्ने नर्सलाई घरबेटीले कोठाबाट बाहिर निस्किन नदिने, कौसीमा लुगा सुकाउन नदिने गरेको पनि उनी बताउँछिन्। ‘पहिलो लहरमा कोभिड वार्डमा काम दयनीय थियो। स्वास्थ्य सामग्री थिएनन्, कसरी उपचार गर्ने अलमल थियो। लामो समय कोभिड वार्डमा काम गर्दागर्दै अहिले आफूमा आत्मबल बढ्दै गएको उनी बताउँछिन्। ‘अहिले पनि नर्सका लागि अस्पतालले राम्रो व्यवस्थापन गर्न सकेको छैन,’ उनी भन्छिन्, ‘पिपिई अस्पतालले दिए पनि त्यसबाहेक अन्य सुरक्षाको स्वास्थ्य सामग्री आफैँ किन्नुपथ्र्यो।’ जसका कारण नर्सलाई काम गर्न कठिन रहेको बताइन्।

बूढानीलकण्ठमा रहेको करुण अस्पतालमा आठ महिनादेखि काम गर्दै आइरहेकी नर्स भावना धिताल कोरोना संक्रमितले आत्मबल बलियो बनाएमा जित्न सक्ने धारणा राख्छिन्। उनले पहिले नर्भिक अस्पतालमा काम गर्थिन्। बूढानीलकण्ठ बस्ने भएकाले नजिकैको अस्पतालमा काम गर्न थालिन्। उनी पनि नेपालमा कोरोना भित्रिएदेखि नै कोरोना वार्डमा खटिएकी थिइन्। उनले कोभिड वार्डमा पाँच महिना जति काम गरिन्। कोराना संक्रमितको सेवामा हुँदा उनलाई कोरोना संक्रमित भइन्छ भन्ने डर लाग्थ्यो। तर, उपचारका क्रममा कोरोना संक्रमित निको हुँदै गएपछि डर कम हुँदै गएको उनी बताउँछिन्।

उनलाई पनि लामो समय पिपिई लगाएर काम गर्न कठिन हुन्थ्यो। ‘१२ घन्टा पिपिइ लिएर काम गर्दा कतिखेर ट्वाइलेट जाउँ, कतिखेर पानी खान जाउँजस्तो हुन्थ्यो,’ उनले भनिन्,  ‘पिपिई फुकालेपछि टन्न पानी खाइन्थ्यो, अब पानी खान पाइन्छ कि पाइँदैन भन्ने डर लाग्थ्यो।’

कोभिड वार्डमा काम गर्दा आफूले समाजबाट अछुतो व्यवहार व्यहोरेको उनको अनुभव छ।

 Published Date: Tuesday, 18th May 2021 12:25:00 pm