भिन 

मैले उनलाई कहिले देखेकी थिइनँ । नदेखेको मान्छेलाई भेट्ने कुरै भएन । एकैपटक बिहे हुने भयो– नदेखेको, नचिनेको मान्छेसँग । म यस्तो परिवारकी थिएँ, जहाँ छोरीको इच्छा र रहरको मूल्य हुँदैन । 

मेरा बाले पक्की घर बनाए, जसमा दुईवटा मात्र कोठा थिए । हामी तीन छोराछोरी थियौँ– म, मेरो दाइ र मेरो भाइ । बाले सधैँ भन्थेँ, एक कोठा जेठो छोराका लागि, अर्को कोठा कान्छोका लागि । हामी बूढाबूढी जहाँ सुते पनि भो । 

मैले आफ्नो अधिकार माग्दै बासँग भन्थेँ– बा, मेरो लागि कोठा खोई, म कहाँ सुत्ने ? 

बाले केही नबोल्दै आमा बोल्थिन्– तँ बिहे गरेर अर्काको घर जान्छेस् । यो तेरो दाइ र भाइको मात्र घर हो । 

आमाको जवाफ सुनेर मेरो मन खिन्न हुन्थ्यो । मेरो बाल मस्तिष्कमा नराम्रो असर पथ्र्यो । एक प्रकारको विद्रोह पैदा हुन्थ्यो । यस्तो लाग्थ्यो, बाआमालाई दाइ र भाइकै चिन्ता छ, मेरो कुनै चिन्ता छैन, किनकि म अर्काको घरमा जाने छोरी । 

घरमा मिठो खानेकुरा पाक्यो भने, आमाले दाइका लागि लुकाएर राखिदिन्थिन् । मेरो मन भित्रभित्रै कुडिन्थ्यो । लाग्थ्यो, के यो घरको मालिक मेरा दाइ र भाइ मात्र हुन् ? म यो घरको कोही पनि होइन ? के यो घरमा कुनै महŒव छैन ? 

दाइ ठूलो भइसकेका थिए । दाइको बिहेभन्दा मेरो बिहे गराउन बाआमालाई हतार थियो । मेरो बिहे गर्ने बेला भएको थियो, वा थिएन भन्ने मलाई नै थाहा थिएन । तर दाइ र बाले मेरा लागि वर छान्ने निर्णय गरे । मलाई सोधिएन– तेरो रोजाइ के हो ? चाहना के हो ? 

घरको कुनै पनि निर्णय लिँदा मेरो राय आवश्यक हुँदैनथ्यो । बा र दाइले जे निर्णय गर्थे, त्यही हाम्रो घरको कानुन बन्थ्यो । 

मेरा बा र दाइले मेरा लागि बेहुला हेरे, मेरो बिहे गर्ने दिन पनि तोके । त्यसमा मैले असहमति जनाउनुको कुनै अर्थ थिएन । त्यसमाथि बा र दाइको निर्णयविरुद्ध बोल्ने ममा साहसै हुँदैनथ्यो । तैपनि मैले आमालाई धेरैपटक भनेकी थिएँ– म बिहे गर्दिनँ । घरमा आमाको कुरा नै त्यति सुनुवाइ हुँदैनथ्यो । एकपटक बिहे गरेर पठाउनैपर्छ भनेर होला, आमाले मेरो आवाजलाई बेवास्ता गरिन् । 

मलाई छिमेकी गाउँको इन्द्रजित मनपथ्र्यो । हामी नुहाउने पोखरी एउटै थियो । ऊ सधैँ हाम्रो गाउँको पोखरीमा भैँसीलाई आहाल बसाउन ल्याउँथ्यो । पोखरीमा नुहाउन जाँदा आहाल बसिरहेको उसको भैँसीमा म चढ्थेँ । यसमा उसले कहिले विरोध जनाएन । म उसको भैँसीमाथि बसिरहेका बेला उसले भैँसीको जिउ परालको लुँडोले सफा गथ्र्यो । आहाल बसेको भैँसी उभिन लाग्दा म हल्लिएर लडेजस्तै हुन्थेँ, त्यतिवेला उसले भैँसीको मुखमा समातेर मलाई भैँसीबाट ओर्लन सघाउँथ्यो । 

घरमा मेरो बिहेको कुरा छिनिएपछि मैले इन्द्रजितलाई मनबाट हटाएँ । इन्द्रजितको बारेमा कहिले कसैलाई सुनाइनँ । 

मेरो बिहे धुमधामसँग भयो, बा र दाइले रोजेको केटासँग । आफ्नो बिहे मलाई सपनाजस्तै लागेको थियो । मेरा बाआमा र दाइ भने खुसी थिए । मलाई धनी घरमा बिहे गरिदिएकामा समाजको अगाडि मेरा बाआमा र दाइको शिर उच्च भएको थियो ।

बिहेको पहिलो रात, उनी कोठामा आए, एकछिन केही बोलेनन्, मेरो छेउमा बसिरहे । न माया–प्रेमको कुरा भयो, न परिचय । केही नबोली उनले मेरो घुम्टो हटाएँ । टुकीको मधुर प्रकाशमा उनले चुपचाप मलाई निर्वस्त्र पारे । म अनौठो सङ्कोचले लजाएँ । आमाले भनेको सम्झेँ– लोग्नेको कुनै पनि कुरामा विरोध गर्नु हुँदैन । जे जे भन्छन्, सबै मान्नुपर्छ । म १८ वर्षकी मात्र थिएँ । लोग्ने र स्वास्नीबीच के हुन्छ भन्ने मैले गाउँका महिलाबाट सुनेकी थिएँ । त्यस रातदेखि उनको प्रेममा परेँ । 

बिहान जलखै बनाउने बेलामा सासूले भनिन्, ‘बाबु जलखै खान आउँदै छ ।’ मैले घुम्टो माथि सारेर भान्साको ढोकाको कापबाट चियाएर उनलाई हेरेँ । त्यसअघि उनको अनुहार राम्रोसँग देखेकी थिइनँ । उनी त्यति नराम्रा थिएनन्, मध्यम कदका, कालो वर्णका, नेप्टो नाक, जुङ्गाका रेखाहरू प्रस्ट देखिएको, मलाई उनी राम्रै लाग्यो । 

उनी एक्ला छोरा थिए । १२ बिघा खेतका मालिक । धनी देखेरै उनलाई ज्वाइँ स्विकारेका थिए मेरा बाले । मेरा बाको इच्छा थियो, मान्छे हेर्नमा जस्तोसुकै होस् तर धनी हुनुपर्छ । भोलि छोरीले दुःख नपाओस् । 

दिन बित्दै थियो । उनकै सामीप्यता मलाई रमाइलो लाग्न थाल्यो । उनीबाहेक कसैतिर हेर्न मन लाग्दैनथ्यो । यस घरमा पनि मेरो केही चल्दैनथ्यो, हरेक कुरामा मैले सासूआमा वा उनीसँग अनुमति लिनुपथ्र्यो । उनीहरुलाई जे खान मन लाग्थ्यो र जे पका भन्थे, त्यही पकाउनुपथ्र्यो । पकाउनुअघि उनीहरुलाई सोध्नुपथ्र्यो । मानौँ मलाई केही खानै मन लाग्दैन, मेरो कुनै रोजाइ छैन । 

दुई महिनापछि मेरो पेटमा बच्चा बस्यो । छोरी जन्मिई । छोरी जन्मेको देखेर घरका सबैजना उदास भए । उनीहरूलाई छोरो चाहिएको थियो, अर्कोपल्ट छोरो जन्माउली भनेर उनीहरूले चित्त बुझाए ।

त्यसपछि सासूले भन्न थालिन्, ‘व्रत बस् । भगवान्सँग छोरो माग् । यत्रो सम्पत्ति कसले चलाउँछ ?’

सम्पत्ति र वंश चलाउने छोरोको जिम्मा मात्र हो जस्तो । धर्मकर्ममा मलाई विश्वास थिएन । भगवान्मा विश्वास कसरी गरौँ ? मेरो इच्छाअनुसार कहिले केही भएको थिएन । मैले सासूले भनेको मान्ने नाममा व्रत त बसेँ, तर लुकेर खानेकुरा खाने गर्थें ।

छोरी जन्मेको करिब तीन वर्षपछि मैले फेरि छोरीलाई नै जन्म दिएँ । घरका सबै मदेखि रिसाएका थिए । मानौँ, छोरी जन्मनुमा मेरो मात्र हात छ । दुई छोरीलाई घरमा कसैले वास्ता गर्दैनथे । छोरीहरुलाई खेलाउने र स्याहार गर्ने जिम्मा मेरो मात्र भयो । 

दोस्रोपटक सुत्केरी भएको १५ दिनपछि घरको काम गर्न थालेकी थिएँ । धान उसिन्ने, धानको भारी उचाल्ने, खेतालालाई कलौ (बिहानको नास्ता) र खाना पु¥याउने गर्थें । खेतको काम पनि गर्थें । तर, घर फर्कंदा छोरीहरू रोइरहेका हुन्थे । 

एक दिन धानको बोरा उचाल्न खोज्दा सकिनँ । तल्लो पेट झर्लाझैँ दुख्यो । जहाँको त्यही बसेँ । सारीलाई छेउ लगाएर हेरेँ, रातो मासुको डल्लो बाहिर निस्केको देखेँ । मैया (आमा) भनेर जोरले चिच्याएँ । म चिच्याएको सुनेर सासू खलियानबाट दौडिँदै आइन् । मेरो अवस्था देखेपछि मलाई सहारा दिँदै घरमा लगेर सुताइन् । मेरो आङ बाहिर निस्केर झुन्डिरहेको थियो । पीडाले म शिथिल थिएँ । पिसाब फेर्ने बेला पोलेर झन् दुख्थ्यो, न उठ्न सक्थेँ, न बस्न । 

भोलिपल्ट सुसुराले वैद्यलाई घरमा ल्याए । वैद्यले एकान्त कोठामा मलाई राखेर आङ देखाउन भने । उनले चुराको मद्दतले आङलाई भित्र धकेले । यसो गर्दा मलाई निकै पीडा भयो । त्यसपछि वैद्यले एक महिनासम्म खानका लागि जडिबुटीको औषधि दिए । दुई महिनासम्म भारी उचाल्ने काम नगर्न भने । 

आङ खस्न रोकिएपछि उनले आफ्नो प्यास मेट्न खोजे, उनको चाहना छोरो जन्माउने पनि थियो । उनीसँगको शारीरिक सम्बन्धले मलाई त्यति सुखद अनुभूति हुन दिएन । तर, म गर्भवती भएँ । यसपालि छोरो जन्मने आशामा थिए, फेरि छोरी जन्मिई । छोरी जन्मेको समाचारले घरमा सन्नाटा छायो । एक दिन सासूले भनिन्, ‘अहिले छोरो जन्मेन भनेर उदास नभएस् । कसै कसैलाई चार, पाँचजना छोरीपछि छोरो जन्मन्छ ।’

तेस्रोपटक छोरी जन्मेको सात महिनापछि मेरो महिनावारी रोकियो । म गर्भवती भएकी थिएँ ।  अब भने म अर्को बच्चा जन्माउन चाहन्नथेँ । मैले गर्भपतन गराउने निर्णय लिएँ तर उनलाई भनिन् । गर्भ मेरो थियो, मैले बोकेकी थिएँ । मैले मेरो गर्भलाई हुर्किन दिनुपर्छ कि फाल्नुपर्छ ? कि के गर्नुपर्छ, त्यो निर्णय लिने अधिकार मैले पाउनुपर्छ । उनले होइन । घरको काम र छोरा पाउने चक्करमा मेरो स्वास्थ्य बिग्रँदै थियो । 

बजारको प्राइभेट अस्पतालहरूमा सुरक्षित गर्भपतन गराउँछन् भन्ने सुनेकी थिएँ । एक्लै बजार गएर गर्भपतन गराएर आएँ । त्यस रात आफूले गर्भपतन गराएको कुरा श्रीमान्लाई सुनाएँ । मेरो कुरा सुनेर उनी क्रोधित भए । मलाई खाटबाट धकेले । म उठ्न नपाउँदै उनले मलाई दुई लात्ती हिर्काउँदै भनेँ, ‘मलाई एकवचन नसोधी किन बच्चा फालिस् ? कसले भन्यो फाल्न ? तँ बढी बुझ्ने भइस् ?’ 

गर्भपतन गराएदेखि नै रगत बगिरहेको थियो र पेट दुखिरहेको थियो । उनले धकेल्दा मेरो तल्लो पेट झनै दुख्यो । यो मेरो आराम गर्ने वेला थियो, तर मैले आराम पाउन सकेकी थिइनँ । 

पलङमुनि पानी भरिएको लोटा थियो । मैले केही देखिनँ । लोटाको पानी उनको अनुहारभरि छ्यापेँ र बायाँ हातले तल्लो पेट समात्दै उठेँ । उनको टाउकामा लोटैलोटा हिर्काउन थालेँ । ‘मलाई कुट्ने ? पेटको बच्चामा तिम्रो अधिकार हुने, घरमा मेरो अधिकार नहुने, यो मेरो पनि घर हो’ भन्दै अन्धाधुन्ध उनलाई लोटाले हानिरहेकी थिएँ । मेरो आक्रोशित रुप देखेर टाउको समात्दै मबाट बच्दै उनी घरबाट निस्के । उनी निस्किसकेपछि मैले ढोका लगाएँ । मेरो मन धेरै बेरसम्म अधीर भइरह्यो । 

त्यो झगडापछि उनी मसँग सुत्न आउन छाडे । म छोरीहरूलाई लिएर सुत्थेँ । दुई हप्तासम्म हाम्रो बोलचाल भएन । दुई हप्तापछि सासूले उनलाई ज्वरो लागिरहेको र सन्चो नभएको कुरा सुनाइन् । मैले कुनै प्रतिक्रिया दिइनँ । उनी राति मेरो कोठामा सुत्न आए । आखिर मेरो नारी मन त्यत्तिकै कमलो थियो । सन्चो नभएको कुराले मलाई उनीप्रति दया जाग्यो । राति उनको जिउभरि तेल घस्दै मालिस गरिदिएँ । उनी दुई दिनपछि पहिलाको जस्तै तंग्रिए । मप्रति सामान्य व्यवहार गर्न थाले ।

तेस्रो रात, उनले फेरि र छोरो जन्माउने कुरा गरे । मैले नजन्माउने कुरा गरेँ । मैले भनेँ, ‘मैले डाक्टरसँग सल्लाह गरेकी थिएँ, छोरा वा छोरी जन्मनुमा श्रीमतीको मात्र हात हुँदैन । श्रीमान्को पनि हुन्छ । अब मलाई बच्चा जन्माउन सक्छुजस्तो लागेको छैन । भो अब छोरो जन्माउने कुरा छाडौँ, यिनै छोरीहरुलाई हुर्काउन पढाउनतिर लागौँ ।’

उनले मानेनन् । उनलाई कुनै पनि हालतमा एउटा छोरो चाहिएको थियो । मैले भनेँ, ‘म अब सन्तान जन्माउन सक्दिनँ, के म बच्चा जन्माउने मेसिन हो ? अब पनि छोरा जन्मन्छ भन्ने के छ ? फेरि छोरी जन्मन सक्छे ।’

मेरो कुरा सुनेर उनी झनै रिसाए । रिसाउँदै ढोकाको आग्लो झिकेर मलाई कुट्न आए । मैले उनको हातमा भएको आग्लो खोसेर उनलाई घरबाहिर धेकेलेँ । हामी झगडा गरेको थाहा पाएर 

सासूससुरा दौडिँदै आए । सबै कुरा बुझेर सासू मसँग रिसाइन् । सासू, ससुरा र लोग्नेसँग मेरो दूरी बढ्दै गयो । म एउटै घरमा छुट्टै बस्थेँ, छुट्टै खान्थेँ । 

श्रीमानले पटक पटक धम्की दिँदै आएका थिए, ‘लोग्ने मान्छेका लागि सिन्दुरको पोको घरको चार (छाना)मा टाँगिएको हुन्छ ।’ उनको भनाइ थियो, केटा मान्छे जतिखेर चाहन्छ, अर्को बिहे गर्न सक्छ । जतिसुकै बिहे गरुन्, त्यसले मलाई केही फरक पार्दैनथ्यो, मैले उनको माया मारिसकेकी थिएँ । मलाई छोरीहरूबाहेक कसैको माया लाग्दैनथ्यो । 

उनले दोस्रो बिहेको कुरा गर्न थालेपछि मैले गाउँका भद्रभलादमीलाई बोलाएँ । सबैका माझमा मैले लोग्नेसँग भिन (अलग) हुने प्रस्ताव राखेँ । तर, उनीसँग पारपाचुके नगर्ने बताएँ । पारपाचुकेभन्दा पनि मलाई उनीसँग भिन भएर बस्ने इच्छा लाग्यो । गाउँमै म पहिलो महिला थिएँ, जसले लोग्नेसँग भिन हुने कुरा गरेकी थिई । गाउँका मान्छेहरू मेरो कुरा सुनेर अचम्ममा परे । सबैले कारण सोधे । मैले कारण बताउँदै भनेँ, ‘उनले मलाई बच्चा उत्पादन गर्ने साधन ठानेका छन् । अझै छोरो जन्माउने इच्छा छ । अब म योभन्दा बढी सन्तान जन्माउन सक्दिनँ । जिउ मेरो हो । मलाई मेरो जिउको माया लाग्छ । कतिवटा बच्चा जन्माउने त्यो मेरो इच्छा हुनुपर्छ । उनको होइन ।’

मेरो कुरा सुनेर उनले भद्रभलादमीलाई प्रस्ताव राखे, ‘म अर्को बिहे गर्छु । मैले अर्को बिहे गरेँ भने तँ विरोध गर्न पाउँदिनस् ।’

मैले भनेँ, ‘छोरीहरु पाल्न र मलाई घर खान केही सम्पत्ति देऊ, म तिम्रो विरोध गर्दिनँ ।’

मेरो कुरामा सबैजना सहमत भए । ससुराले खेतलाई तीन भाग लगाउने कुरा गरे । सासूससुरालाई एक भाग, मलाई एक भाग र उनलाई एक भाग । यसरी मेरो भागमा चार बिघा खेत पर्यो ।

अंशबन्डा गर्दा उतरबरीया घर मेरो भागमा प¥यो । दक्षिणबरीया, पुबरीया र भान्सा घर सासू र उनको भागमा प¥यो । मेरो भागमा भान्सा घर परेन । मैले भोलिपल्टै  कमदारलाई बोलाएर  बाँस, कर्ची र खरको टाँटी बनाएँ । 

मेरा दाइ, भाइको बिहे भइसकेको थियो । मैले यस्तो गरेको खबर बाआमाले थाहा पाएछन् । दाइ, भाइ आफ्नै पारिवारिक समस्यामा अल्झेका थिए । बाआमा मलाई भेट्न आए । मलाई सम्झाउँदै उनीसँग बस्न आदेश दिए तर मैले बाआमाको आदेश पालना गरिनँ । 

एक महिनापछि उनले साधारण तरिकाले अर्को बिहे गरेर नयाँ बेहुली ल्याए । 

दिन बित्दै थियो । जेठी छोरीलाई स्कुल पठाउन थालेँ । उनकी अर्की स्वास्नी गर्भवती भई । छोरो जन्मिछ भन्ने आशा लगाएर बसेका थिए, तर उसले पनि छोरी नै जन्माई । उनीहरु सबै दुःखी थिए, एक अर्कासँग कुरा पनि गर्दैनथे । 

माइतीमा मेरा दाइ र भाइ भिन हुने पक्का भइसकेको थियो । दाइले गाउँको घर राखे । भाइले सडक छेउको टिक खेतमा घर बनायो । बाले दाइसँग बस्ने निर्णय लिए भने आमा भाइसँग बस्ने भइन् । बुढेसकालमा बाआमा छुट्टाछुट्टै बसिरहेका थिए । एकअर्काको सहारा चाहिने बेला एकअर्कासँग छुट्टिएर बसेका थिए । 

एक दिन बाआमा सँगै मेरो घरमा आए । मनभरिको गुनासो मलाई सुनाए । मलाई स्वतन्त्र रुपले बोल्न नदिने बाआमाको गुनासो मैले सुनिदिएँ । दुवैजनालाई एकै ठाउँमा बस्न सल्लाह दिएँ । तर उनीहरू मेरो सल्लाह मान्न तयार भएनन् । बालाई जेठी बुहारी मनपर्ने, आमालाई कान्छी बुहारी । बाआमाको यस्तो बिजोग देखेर छोरो नजन्मेकामा आफूलाई धन्य ठानेँ । 

मेरा तीन छोरीहरू स्कुल पढ्न जान थालेका थिए । म खेतको काममा व्यस्त हुन्थे । हली राखेर खेती गराउन थालेँ । 

उता, अर्की स्वास्नीलाई पनि मलाई जस्तै छोरी जन्माई भनेर हेला गर्न थालेका थिए, तर ऊ छोरी टिपेर हिँडी । ऊ पुबरिया टोलको स्वास्नी बितेको पुरुषसँग गएकी रैछ । 

यता उनले तेस्रो बिहे गरे । तेस्री स्वास्नीबाट बच्चा नै जन्मेन । धामीझाँक्री लगाए, तैपनि जन्मेन । अन्तमा अस्पताल निकै धाए, तैपनि भएन। 

आजभोलि उनी बाबाजीहरूको संगतमा लागेका छन् । गाउँमा रहेको बाबाजीको कुटीमा गएर बिहान–बेलुका भजनकीर्तन गाउँछन् ।
 

 Published Date: Saturday, 19th June 2021 10:40:00 am