प्रधानमन्त्री ज्यू, जनादेशको यतिसारो अपमान किन?

सम्माननीय प्रधानमन्त्रीज्यू,

तपाईंसँग खबर सम्प्रेषण गर्नु तपाईंका सहकर्मी, सहयोगी, सारथि र सल्लाहकारहरूकोे जिम्मेवारी त हो नै।  एक नागरिकको हैसियतले देशको सत्यतथ्य अवस्थाको चित्रण गर्नु म पंक्तिकारको पनि उत्तिकै जिम्मेवारी हो। यो लेख लेख्दै गर्दा देशको अवस्था एकदमै दयनीय देखिएको छ। जहाँ पनि अन्योल र अस्थिरताको भूमरी मात्र देखिरहेको छु। मुलुक जहाँ थिच्दा पनि पिप र रगत मात्र आउने सिकिस्त बिमारी अवस्थामा मृत्युसँग संघर्ष गरिरहेको देखिरहेको छु।

धेरै नेपालीको मनमा मेरैजस्तो एकै प्रकारका ज्वारभाटा उम्लिरहेका छन्। तर, मरेको मन बोकेर बाँचेको विश्वास दिनुपरेको छ। परिवर्तनको खोजीमा संघर्ष र प्रयत्न गर्दागर्दै लखतरान र हतास भइसकेको यो मुलुकलाई राष्ट्रिय संकल्प र इमानदारीको नैतिक पूँजी लगाएर तपाईंले नयाँ जीवन दिनुहुनेछ भन्ने आम नेपालीले ०७४ सालमा व्यक्त गरेको जनादेश वा मतादेश फुटेको ऐनाजस्तै चकनाचुर भएको छ। ऐना फुटेर मुहार हेरिनसक्नु भएको छ।

तपाईंले यसलाई आफूमाथि जनताले बिसाएको ऋणभार सम्झिनुहुन्छ कि भन्ने अपेक्षा गरेका थिए। आफ्नै रोगसँग संघर्ष, आफ्नै गरिबीसँग संघर्षबाट हासिल भएको विगतको भोगाइ र आत्मशक्तिलाई अब मुलुक बनाउने ‘बाजी’ लगाउनमा तपाईं लागिपर्नुहुनेछ भन्ने विश्वास पनि थियो।

अधिकांश नेपालीलाई हातमुख जोर्न गाह्रो भएकाले आहाराको चिन्तामै हाम्रा बुद्धि विवेक रुमल्लिएका छन्, नष्ट भइरहेका छन्। समस्या र संकट आज देशको कुन क्षेत्रमा छ भन्ने प्रश्नको उत्तर दिएर साध्य छैन। बरु समस्या कहाँ छैन भनेर अपवाद खोज्न मजा लाग्दैछ।

तपाईंले पनि प्राप्त अवसरलाई राष्ट्रिय संकल्प, पद्धति, विचार र आचरणको रूपमा संस्थागत तथा संविधानको सर्वोच्चतालाई स्थापित गरौँ भन्ने सत्प्रयास गर्नुको सट्टा शैशवकालमा रहेको संविधानको घाँटी निमोठ्ने प्रयास देखिएको छ। केवल आफैँ शक्तिशाली बन्ने कमजोरी मात्र देखापरिरहेको छ। जो गल्ती मात्र होइन,  बेइमानी पनि गर्नुभयो । ‘हुकुमी’ हैसियतको प्रधानमन्त्रीभन्दा संस्थागत प्रणालीमा विराजमान कमजोर प्रधानमन्त्री नै सशक्त, निर्णायक र कालजयी हुन्छ। त्यसकारण प्राप्त लोकतन्त्रलाई तपाईंबाट संवैधानिक शासनको भरपर्दो पद्धतिको रूपमा विकसित भएको मेरो युवा पुस्ताले देख्न चाहन्थ्यो तर तपाईंका कर्मले मेरो युवापुस्ता निराश मात्र देखिन्छ।

दुःखको पिँधमै पुगी मृत्युको अनुहार देखेर त्यसलाई परास्त गरेर आउनुभएको तथा अदम्य साहस, उत्साही मन, सकारात्मक सोच र आफ्नै नामको ‘ओली युग’ ल्याउँ भन्ने मानवीय ‘तमन्ना’ तपाईंभित्र अझै ताजै रहेको ठानेर केही गर्नुहोला कि भन्ने झिनो आशा बाँकी थियो। हाम्रो  धोकोलाई तपाईंका क्रियाकलापले धोका नदिउन् भनेर चाहन्थ्यौँ। तर, फर्किहेर्दा हाम्रो गाउँतिर दुःख पाएको वा गरीबी झेलेको मानिसले गालामा औंला ठोक्दै ‘पानीले पखल्या जसो के भयो है कर्म’  भनेजस्तै  तपाईंका हरेक कर्मले अहिले नागरिक प्रताडित बनेका छन्।

हामी नागरिक प्राकृतिक संकटलाई सहन सक्छौँ। तर, मानवनिर्मित संकट सहन र पचाउन सकिँदैन। मुलुक कोरोना महामारीको संकटबाट त्रसित छ, जसबाट मृत्यु हुनेहरूको संख्या धेरै पुगिसकेको छ। धेरै मानिस आजको मितिमा पनि संक्रमित छन्। केही मानिस बाढीपहिरोबाट मृत्युवरण गरिरहेका छन्, कोहीले आत्महत्या गरिरहेका छन्, कोही औषधि र उपचार नपाएर ब्रहमलिन हुँदैछन्, धेरैजसो चेलीबेटीको बलात्कारपछि हत्या भएका घटनाहरू ताजै छन। कञ्चनपुरकी अवोध किशोरी निर्मला पन्त र बैतडीकी भागरथी भट्ट ज्वलन्त उदाहरण हुन्।  समस्याको स्रोत र केन्द्र कोरोना मात्र होइन, अन्यत्रै पनि प्रशस्तै भएको प्रष्ट हुन्छ।

दण्डहीनता, हिंसा, यातना र अत्याचारका कारण गैरन्यायिक हत्याको शिकार भएका नागरिकको संख्या कहालीलाग्दो दरमा बढिरहेको छ। ज्यानमाराहरू अदालतकै आदेशमा सजायको बीचैमा रिहा हुन्छन्। जघन्य अपराधी र हत्याराहरू राजनीतिक संरक्षणका कारण ‘फरार’ हुन पाएका छन्। यी सबै हर्कत किन भइरहेका छन् प्रधानमन्त्रीज्यू? यसको मूल कारण र खल्तीमा समाधानको उपाय तपाईंसँग हुनुपर्छ भन्ने जनचाहना हो। तर, तपाईंको खल्ती च्यातिएर प्वाल परेको रहेछ।

संवैधानिक अंगहरू राजनीतिक भागबण्डा र भर्तीकेन्द्र भइरहेका छन्। विश्वविद्यालयको दुर्दशाको बारेमा त स्वयं प्राध्यापक र विद्यार्थी वर्गले प्रशस्तै आवाज उठाउँदै आएका हुन्।  विश्वविद्यालयभित्रै बौद्धिकता, राजनीतिभित्र राजनीति, न्यायालयभित्र न्याय, सुरक्षा संयन्त्रभित्र सुरक्षा, अनि मन्दिरबाट देउता हराउनु पक्कै पनि एउटा आदर्शले ओतप्रोत हुन खोज्ने बौद्धिक समाजको लागि स्वीकार्य हुँदैन र हुनु पनि हुँदैन। यो जे जति हरायो, तपाईंकै प्रधानमन्त्री कालमा हरायो।

देशको राजनीतिक तथा कर्मचारी संयन्त्रले सोचेजस्तो उच्चकोटीको कार्य सम्पादन गर्न सकेको छैन भन्ने व्यापक जनगुनासो सुनिन्छ, प्रत्येक दिन अखबारमा तथा सामाजिक सञ्जालमा पढ्न तथा सुन्न पाइन्छ। अर्कातिर सिंहदरबारको भ्रष्टाचार आज गाउँ र वडा तहसम्मै पुगिसकेको तथ्य, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका हजारौँ उजुरीको चाङले छर्लंग हुन्छ।

दुई तिहाइ समर्थनको सरकार प्राप्त गर्ने सुनौलो अवसर पाए पनि संविधानमाथि नै  ‘कु’  गरेर नागरिकको आवाज गुञ्जायमान गर्ने थलो संसदलाई पटक–पटक विघटन गरेर देशलाई अँध्यारो गुफातर्फ लैजाने प्रपञ्च गर्नुभयो। संविधानलाई नै घाइते बनाइदिनुभयो। संसदलाई कोमामा राख्नुभयो। सांसदलाई सरकार बनाउने र ढाल्ने प्रयोजन मात्र हो भन्ने नकारात्मक परिभाषालाई अझ बल थप्नुभयो। संविधानको वर्खिलाफ कर्म गर्नुभयो, बहुमतमा हुँदा पनि तानाशाही हुनुभयो र अल्पमतमा परेपछि पनि जनताको रगत र पसिनाको खोलोबाट लेखिएको संविधानको मूल मर्म र भावनालाई लत्याउँदै यहाँसम्मको बेथिति गर्नुभयो। गर्दागर्दै राष्ट्रको अभिभावकीय संस्था, संविधानको संरक्षकलाई बदनियत गरेर भक्षक हुन उद्यत बनाउनुभयो। अझ प्रदेश सरकारहरूमा पनि विकृति फैलियो। प्रधानमन्त्रीज्यू, तपाईंको शासनकालमा जहाँ पनि छापामार शैली मात्र देखियो।

त्यति मात्र होइन, जनता रोग, शोक र भोकबाट आहत भएको बेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार हुन छोडेन। मानवीय संवेदनासमेत नभएको तपाईंको सरकारबाट अरू केही आश गर्ने ठाउँ छ र प्रधानमन्त्री ज्यू? यति हुँदासम्म पनि अझै मैमत्त भएर उखान वाचन र लोकप्रियताका कुरा गर्न छोड्नुभएको छैन भने नैतिकता र इमानको त कुरै भएन।

स–साना अप्ठ्याराबाट जीवन निर्वाह गरिरहेका नेपाली जनतालाई ठूल–ठूला सपना बाँडेर मख्ख पार्नुभयो। गाउँमा सडक र गाडीको मुख नदेखका नागरिकलाई रेलको सपना देखाउनुभयो र घरदेखि घण्टौँ हिँडेर पानी बोक्नुपर्ने, भारी बोक्दाबोक्दै पाठेघर खसिसकेका दिदीबहिनी, आमाहरूलाई पानीजहाजका सपना देखाएर बेइमानी गर्नुभयो। यी सपनाहरू जनताको मन जित्ने सफलताका कार्यक्रम होइनन् प्रधानमन्त्रीज्यू ! सबैलाई हातमुख जोर्ने, छोराछोरीलाई शिक्षादीक्षा दिने, बिमारी हुँदा देशभित्रै सर्वसुलभ रूपमा ओखतिमुलो गर्न सकिने, निर्दोष र गरिखाने समुदायले असुरक्षित तथा त्रसित हुनु नपर्ने र अपराधी वा दोषीले उन्मुक्तिको कल्पनै गर्न नसक्ने परिपाटीको विकास हामीलाई चाहिएको हो। यही विकास र सुशासनको यात्राबाट आखिर हामी रेल र पानीजहाज चढ्ने हैसियतमा पुग्ने थियौँ। तर, जनता सर्वसुलभ रूपमा स्वास्थ्योपचार चाहन्छ, बिमारी मान्छे पैसाको अभावमा उपचार गर्न नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको छ। उपचार र राहतका लागि  अवोध बालक र निरिह जनता हात फैलाउँदै छन् । तर, प्रधानमन्त्री ज्यू, तपाईंले  नक्कली कुरा गरेर जनता झुक्याउनुभयो। योभन्दा ठूलो अर्को बेइमानी केही होला र?

प्रधानमन्त्री ज्यू, यति सानो मुलुकमा यतिधेरै उथलपुथल भइसक्यो कि तपाईं अझै पनि  पूरा नहुने सपना र नारा बेच्दै हुनुहुन्छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर ३६५ दिनमा १०० दिन रोजगारी दिएर बाँकी २६५ दिन भोकभोकै बस्नुपर्ने बजेट नीति छ। बजारकेन्द्रित सडकछेउको घरजग्गाको लालपुर्जा र श्रीमतीको कान र घाँटीमा लगाएको गरगहनासमेत  बैंकमा राख्दा ऋण लिन सकस भएको व्यवसायीका सन्तानले डिग्रीका कागज बोकेर ऋण पाउलान् त? त्यही पनि सानो व्याजदरमा यस्ता हावा बजेट तथा नीति कार्यक्रमले चर्चा त पाउला तर उपलब्धी भने शून्य। यसो भनिरहँदा सत्ताका समर्थकहरू उफ्रीउफ्री अझ हँ मा हँ मिलाउँदै  ‘लौ न हो ताली ठोक्दैछन्’ अनि अरू सबै गाली गर्दैछन्। यही हो त तपाईंको समृद्धि परिकल्पना?

मुलुक संकटग्रस्त छ। कोरोना संक्रमणले सबैको रोजगारी खोसिएको छ। दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरू अहिले सडकपेटीमा बसेर खानाका लागि हात थापिरहेका धुलाम्य तस्बिरहरू सञ्चार माध्यममा आइरहेका छन्। आर्थिक रूपमा देश टाट पल्टिसकेको छ। यस्तो संवेदनशील र संकटको परिस्थितिमा पनि अझ अन्योलको बाटोमा लागिरहने तानाशाही प्रवृत्तिलाई बेइमानी नभनेर अनि म के भनुँ प्रधानमन्त्री ज्यू? अब त अति भो।

 Published Date: Wednesday, 16th June 2021 3:29:00 pm