भाषा लोप हुँदा औषधीय ज्ञान पनि गुम्ने जोखिम

विश्वभरका आदिवासीले प्रयोग गर्ने भाषाहरू लोपोन्मुख रहँदा मौखिक औषधीय ज्ञानकोष पनि नष्ट हुने जोखिम देखिएको छ। स्वदेशी समुदायहरूमा बिरुवाहरूका १२ हजार चार सय ९५ औषधीय प्रयोगमध्ये नयाँ अनुसन्धानले ७५ प्रतिशतभन्दा बढी ती वनस्पति एक स्थानीय समुदायको भाषासँग जोडिएको पत्ता लगाएको छ। यदि यी अनौठा शब्दहरू लोप भए भने सायद आवश्यक ज्ञान पनि लोप हुनसक्छ।

‘प्रत्येक समुदायको भाषा औषधीय ज्ञानको अनौठो भण्डार हो,’ शोधकर्ताहरूले भनेका छन्, ‘मानिसहरूलाई प्रकृतिको योगदानको बारेमा बुझ्न र संरक्षण गर्न मुख्य तत्त्व हुनसक्छ।’

भाषा लोपोन्मुख रहनु आफैँमा दुःखद् घटना हो, जुन विश्वव्यापी समस्याका रूपमा देखिएको छ। कारण– मानिसहरूले आफूले बोल्ने अमूल्य भाषा विस्तारै अन्य भाषाबाट प्रतिस्थापन गरिरहेका छन्। शोधकर्ताहरूको दाबीअनुसार एक भाषा हरेक चार महिनामा बोल्न बन्द हुन्छ र हाल विश्वव्यापी रूपमा तीन हजार ५४ भाषा लोपोन्मुख छन्।

उत्तरी अमेरिका, पपुआ न्यू गिनी र उत्तरपश्चिमी अमेजनका आदिवासी भाषाहरूमा गरिएको नयाँ अनुसन्धानले भाषामा छिपेका महत्त्वपूर्ण सूचनाहरू लोप भएर जानसक्ने औँल्याएको छ। वास्तवमा, औषधिजन्य बोटविरुवा वा वनस्पतिको हाम्रो सामूहिक ज्ञान वातावरणीय विनाशबाट भन्दा आदिवासी शब्द लोप हुँदा गुम्ने जोखिम बढी छ।

अध्ययनमा औषधिजन्य वनस्पतिका तीन हजार पाँच सय ९७ प्रजातिको विश्लेषण गरिएको थियो। त्यसमध्ये शोधकर्ताहरूले इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) द्वारा संकलित लोपोन्मुख प्रजातिको ‘रेड लिस्ट’मा पाँच प्रतिशतभन्दा कम वनस्पति रहेको पाए।

ती बिरुवाहरूमध्ये केहीले उचित संरक्षण एसेस्मेन्ट पूरा गरेका छैनन्। त्यसैले ती बिरुवाको ‘परफरमेन्स’बारे थप अध्ययन आवश्यक देखिएको छ। अध्ययनले वर्तमान विवरण र मेसिन लर्निङबाट हामीले नियालिरहेका वनस्पतिका कम प्रजाति लोप हुने जोखिममा रहेको उल्लेख गरेको छ।

ती बोटबिरुवामाथि रहेका ज्ञान हजारौँ वर्षदेखि पुस्तान्तरण पुस्ता हुँदै आएको छ। हाल, ती वनस्पति पनि संकटापन्न अवस्थामा छन्। यस अध्ययनमा बोटबिरुवाका अधिकांश प्रजातिमा आदिवासी भाषामा वर्णित चिकित्सकीय गुणहरू पाइयो। तीमध्ये धेरैजसो वनस्पती आफैंमा लोपोन्मुख छन्।

उदाहरणका लागि उत्तर अमेरिकामा शोधकर्ताहरूले आदिवासी भाषाहरूमा वनस्पतिजन्य औषधिमा अद्वितीय ज्ञानको ८६ प्रतिशत हिस्सा रहेको पत्ता लगाएका छन्। अर्कोतर्फ, उत्तर पश्चिमी अमेजनमा औषधिका रूपमा प्रयोग हुने बोटविरुवाको शतप्रतिशत ज्ञान विलुप्त हुने चरणमा रहेका भाषाहरूमै सीमित रहेको पाएको छ।

‘यस नतिजाले अमेरिका एक आदिवासी ज्ञानको केन्द्र हो भन्ने स्पष्ट पारेको छ। अर्थात्, अधिकांश औषधीय ज्ञान संकटापन्न भाषाहरूसँग जोडिएको छ। त्यसैले यो भविष्यमा विवरण राख्ने प्रयासका लागि एक प्राथमिक क्षेत्र हो,’ शोधकर्ताहरूले लेखेका छन्, ‘यसविपरीत पपुवा न्यू गिनीमा सबै अनौठा ज्ञानको ३१ प्रतिशत हिस्सा लोपोन्मुख भाषाहरू पाइएका छन्।’

सायद, त्यस्तो ज्ञानलाई कम आँकिएको हुन सक्छ। पपुवा न्यू गिनीका भाषाहरू आकलन गर्न गाह्रो छ किनकि यस क्षेत्रमा त्यति धेरै भाषिक सर्वेक्षण भएका छैनन्। वर्तमान अनुसन्धानले देखाएअनुसार न्यू गिनीका युवा आफ्ना बाबुआमाको तुलनामा आफ्नै मातृभाषामा निपुण हुन सक्ने सम्भावना ३३ प्रतिशतभन्दा कम छ। र, भाषाको पुस्तान्तरणमा तीव्र गिरावट देखिएको छ।

त्यस्तो क्षतिका आधारमा संयुक्त राष्ट्रसंघले अर्को वर्ष अनौठो संस्कृति र तिनीहरूको ज्ञानको बारेमा विश्वव्यापी चेतना जगाउन आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय दशक घोषणा गरेको छ।

यदि हामी अहिले आदिवासी भाषाहरूको जगेर्ना र संरक्षण गर्न कोशिस गरेनौँ भने हामीले भविष्यमा वनस्पति, जनावरहरू र दिगो भूमि व्यवस्थापनमा सम्भावित महत्त्वपूर्ण ज्ञान गुमाउने सक्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

वर्तमानमा करिब ६ प्रतिशत उच्च बोटबिरुवाको जीवविज्ञान अध्ययन गरिएको छ। त्यसको अर्थ आदिवासी औषधीय बोटबिरुवाहरू पश्चिमी वैज्ञानिक परीक्षणका लागि अनुकुल हुन्छन् कि हुँदैन भन्ने अस्पष्ट छ। तर, केही वनस्पत पश्चिमी वैज्ञानिक परीक्षणका लागि अनुकुल पनि देखिएका छन्।

उदाहरणका लागि अस्ट्रेलियाको याइगल आदिवासी समुदायमा प्रयोग हुने केही औषधीय बोटबिरुवामा हालै एन्टिबायोटिकजस्तो गुण पाइएको छ, जसको उपयोग लगातार बढिरहेको एन्टिबायोटिक प्रतिरोधविरुद्धको लडाईंमा पुरकका रूपमा गर्न सकिन्छ।

क्लिनिकल मेडिसनमा ती बोटबिरुवाको प्रभावकारिता उच्च छ। र, शोधकर्ताहरूले औषधीय बोटबिरुवाको ज्ञान सांस्कृतिक दृष्टिबाट पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। एक पुस्ताबाट अर्कोले विरासतका रूपमा पाउने त्यस ज्ञानको संरक्षण गर्नुपर्ने उनीहरूले औँल्याएका छन्।

‘हाम्रो अध्ययनले प्रत्येक आदिवासी भाषामा अद्वितीय पहिचान हुन्छ जुन औषधिको खोजी गरिहेका अन्य समाजका लागि पूरक बन्न सक्छ,’ शोधकर्ताहरूले भनेका छन्, ‘तसर्थ २१ औँ शताब्दीको अन्त्यसम्ममा ३० प्रतिशत आदिवासी भाषा लोप हुने अनुमानले औषधि पत्ता लगाउन मानवी क्षमता गुम्ने जोखिम देखिएको छ।’

(साइन्स अलर्ट डट कमबाट)
 

 Published Date: Saturday, 19th June 2021 6:09:00 am