महोत्तरीमा असार १५ गतेसम्म थपियो निषेधाज्ञा 

जलेश्वर, असार ८ : महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ। 

आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो। पछिल्लोपटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। 

यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरु अब बिहानदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछन्। त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ । यसअघि अत्यावश्यक सामग्री बेच्ने पसल बिहान तीन घण्टामात्र सञ्चालन हुनसक्ने व्यवस्था थियो।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन्। खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। 

जिल्लामा यसपालि गत वैशाख २२ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो। त्यसयता क्रमशः पछिल्लो पटकसमेत छैटौँपटक निषेधाज्ञा अवधि थप गरिएको हो। यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो। यो महाव्याधिले हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो। यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो।

 Published Date: Tuesday, 22nd June 2021 8:42:00 am